भक्तपुरमा बाढीको जोखिम बढेपछि नदीखोला आसपास माइकिङ


काठमाडौँ । लगातारको वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै भक्तपुरका नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

सशस्त्र प्रहरी बल गुह्येश्वरी भक्तपुरले मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा मनोहरा र हनुमन्ते खोलालगायत विपद् जोखिमयुक्त क्षेत्रमा बिहानैदेखि माइकिङ गर्दै स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको हो।

भक्तपुरमा हनुमन्ते र मनोहरा खोलाका कारण राधेराधे, बालकोट, दिव्यश्वरी जग्गा एकीकरण क्षेत्र, नयाँठिमी, क्यामेरोटार र निकोसेरालगायतका क्षेत्र डुबानको जोखिममा पर्ने गरेका छन्।

सम्भावित बाढी तथा डुबानबाट जोगिन खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।