काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा न्यायपालिकाको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपाने र नेकपा एमालेका सांसद गुरु बरालबीच सवाल–जवाफ भएको छ।
बैठकमा बोल्दै एमाले सांसद बरालले सत्तापक्षका सांसदबाट न्यायपालिकामाथि निरन्तर प्रहार भइरहेको भन्दै आपत्ति जनाए। अदालतका निर्णयप्रति राजनीतिक आक्रोश व्यक्त गर्ने र न्यायपालिकाको मानमर्दन गर्ने प्रवृत्ति देखिन थालेको उनको आरोप थियो।
बरालको भनाइपछि रास्वपा सांसद न्यौपानेले प्रतिवाद गर्दै आफूहरू अदालतलाई कमजोर बनाउन नभई कमजोर देखिएका पक्ष सुधार गरी सक्षम बनाउनुपर्ने पक्षमा रहेको बताए।
उनले न्यायपालिकामा लामो समयदेखि रहेको भनिएको ‘सिन्डिकेट’ अन्त्य गर्दै सक्षम र योग्य न्यायाधीशबाट न्याय सम्पादन हुनुपर्ने धारणा राखे। कुनै मुद्दाको फैसलामाथि पुनरावेदनको व्यवस्था तथा गलत फैसलाको अवस्थामा महाभियोगलगायतका विषयमा संसद्को भूमिकाबारे पनि उनले प्रश्न उठाए।
न्यौपानेले योग्य र सक्षम न्यायाधीशमाथि अनावश्यक प्रहार तथा मानमर्दन हुन नहुने बताए। उनको भनाइलाई रास्वपाका सांसदहरूले टेबल ठोकेर समर्थन गरेका थिए।
त्यसपछि पुनः बोलेका एमाले सांसद बरालले संसद्ले अदालतका फैसलाको अध्ययन गर्ने वा न्यायिक निर्णयमाथि हस्तक्षेप गर्ने अधिकार नरहेको बताए। अदालतसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी न्याय परिषद्को रहेको उनको भनाइ थियो।
बरालले न्यायपालिकामा सुधार आवश्यक भए संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढाउनुपर्ने भन्दै चौतर्फी रूपमा अदालतको मानमर्दन गर्ने विषय स्वीकार्य नहुने बताए।



















प्रतिक्रिया