असमझदारी अन्त्य गर्दै अघि बढ्ने एमालेको दाबी, गल्ती नदोहोर्‍याउने संकल्प


काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकले पार्टीभित्रको आन्तरिक एकतालाई थप सुदृढ बनाएको दाबी गर्दै विगतका कमी–कमजोरी सच्याएर आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्‍याउने संकल्प गरेको जनाएको छ।

बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा बैठक पार्टीको पुनर्जागरण तथा सुदृढीकरणका लागि ठोस योजना निर्माण गर्ने दृष्टिले महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्त्वपूर्ण रह्यो। बैठकमा हामीले विगतमा रहेका कमीहरूको गम्भीर समीक्षा गरेका छौँ, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्‍याउने प्रण गरेका छौँ।’

एमालेले बैठकबाट पार्टीको सुधार तथा रूपान्तरणका लागि मार्गचित्र तयार भएको जनाएको छ। यस क्रममा देखिएका कतिपय असमझदारी र अस्वस्थता बैठकपछि अन्त्य भएको तथा पार्टी थप एकजुट भएको विज्ञप्तिमा दाबी गरिएको छ।

बैठकले तय गरेका निर्णयलाई गम्भीरतापूर्वक बोध गर्दै निष्ठापूर्वक कार्यान्वयन गर्न नेता तथा कार्यकर्तालाई एमालेले आग्रह गरेको छ।

त्यस्तै, बैठकको सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा तथा निर्वाचनको तयारीका लागि पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन पनि नेता–कार्यकर्तालाई आह्वान गरिएको छ।