काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा अल्पकालीन लगानी तथा कारोबार गर्न सहज हुने गरी नयाँ व्यवस्था लागू गरेको छ।
राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै सरकारले अघि सारेको पुँजी बजार सुदृढीकरणसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा सेयर निष्कासन गरी धितोपत्र बजारमा सूचीकृत भएका संस्थाको सेयर खरिद गरेपछि न्यूनतम ४५ दिनमै बिक्री गर्न पाउने भएका छन्। यसअघि यस्तो सेयर कम्तीमा ६ महिना अर्थात् १८० दिन होल्ड गर्नुपर्ने व्यवस्था थियो।
राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको लगानी व्यवस्थापनमा लचकता ल्याउनुका साथै पुँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रियता र तरलता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लगानीलाई बैंकिङ र ट्रेडिङ बुकमा वर्गीकरण
नयाँ व्यवस्थाअनुसार बैंकहरूले सेयरलगायत लगानीलाई ‘बैंकिङ बुक’ र ‘ट्रेडिङ बुक’मा वर्गीकरण गर्नुपर्नेछ। लगानी गर्नुअघि सञ्चालक समितिबाट लगानी नीति तथा कार्यविधि स्वीकृत गराउनुपर्ने व्यवस्था गरिएको छ।
ट्रेडिङ बुकमा राखिएका लगानीको दैनिक ‘मार्क टु मार्केट’ गर्नुपर्नेछ। साथै, सेयर कारोबार गर्दा ‘टेक प्रोफिट’ र ‘स्टप लस’का सीमा तथा ट्रिगरसमेत बैंकको लगानी नीतिमा स्पष्ट रूपमा तोक्नुपर्नेछ।
स्वार्थको द्वन्द्व रोक्न कडाइ
राष्ट्र बैंकले बैंकको लगानी निर्णय तथा कारोबारमा स्वार्थको द्वन्द्व हुन नदिनसमेत व्यवस्था कडा बनाएको छ। आफ्नै स्वामित्वमा रहेका सहायक कम्पनी, उल्लेख्य स्वामित्व भएका सेयरधनी तथा जोखिम लिने व्यक्तिसँग स्वार्थको द्वन्द्व नहुने गरी लगानी व्यवस्थापन गर्नुपर्नेछ।
त्यस्तै, लगानीबाट उत्पन्न हुन सक्ने बजार तथा तरलता जोखिम पहिचान, मापन र व्यवस्थापन गर्न ‘स्ट्रेस टेस्टिङ’ लगायतका विधि अपनाउनुपर्ने व्यवस्था गरिएको छ।
काउन्टर साइक्लिकल बफर शून्य
राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशतमा कायम राख्ने निर्णयसमेत गरेको छ।
यसले बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा पर्ने दबाबलाई सीमित गर्दै कर्जा विस्तार तथा लगानीका लागि पुँजी उपलब्धतामा सहजता ल्याउने अपेक्षा गरिएको छ।
लगानीको मासिक विवरण राष्ट्र बैंकमा बुझाउनुपर्ने
नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाको लगानीमाथिको सुपरिवेक्षणलाई समेत थप व्यवस्थित गरिएको छ।
अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्नो बैंकिङ बुक र ट्रेडिङ बुकमा रहेको लगानी, सेयर बिक्रीको मिति, बिक्री रकम तथा त्यसबाट भएको नाफा–नोक्सानको विवरण हरेक महिना राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ।


















प्रतिक्रिया