सडक भासिएपछि मनकामना केबलकार सेवा बन्द


चितवन । निरन्तरको वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएपछि केबलकार सेवा बन्द गरिएको छ।

आइतबार गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।

इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै त्रिशूली नदीले धार परिवर्तन गरेको छ। नदीको तीव्र बहावले झोलुङ्गे पुलमा लगातार प्रहार गर्दा मुख्य राजमार्गसमेत चर्किएको र केबलकारतर्फको भित्री सडक भासिएको हो।

सडकमा क्षति पुगेपछि मनकामना केबलकारको सेवा हाल बन्द रहेको छ। नदीको बहाव निरन्तर बढिरहेको तथा पुलमा पानीको दबाब कायमै रहेकाले आसपासका क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताएका छन्।

नदीको बहाव र सडकको अवस्थालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।