चितवन–काठमाडौं सडकमा पहिरोले यातायात ठप्प


चितवन । लगातारको वर्षापछि नारायणगढ–मुग्लिन सडक तथा धादिङ हुँदै नागढुंगा–नौबिसे–मलेखु सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा बिहानैदेखि सवारी आवागमन प्रभावित भएको छ।

नागढुंगा–मुग्लिन सडकको पश्चिम खण्डअन्तर्गत मलेखुको शीतलबजारदेखि मुग्लिनसम्म करिब २० स्थानमा लेदोसहितको पहिरो खसेको सडक आयोजनाले जनाएको छ। कृष्णभीर, गोमती खोला, रिसिङ, ज्यामिरेघाट, हुग्दी खोला–जवाङ खोला, फिस्लिङलगायतका क्षेत्रमा पहिरो खसेको छ।

ज्यामिरेघाटमा ठूलो पहिरो खसेर सडक दुवैतर्फ पूर्णरूपमा अवरुद्ध भएको छ। फिस्लिङ क्षेत्रमा २०० मिटरभन्दा बढी सडकमा ढुंगा, लेदो र रुखसहित पहिरो खसेको छ भने मुग्लिनतर्फ करिब ३० मिटर सडक भासिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले जानकारी दिए।

चुम्लिङटारमा ढुंगासहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। धारापानी–कुरिनटार क्षेत्रमा सडकको आधा भाग भत्किएको छ। घोप्टेभीर र मुग्लिन नजिकको सिमलधारामा भने पहिरोका कारण दुवैतर्फको सडक अवरुद्ध छ।

नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डमा पनि चालीस किलो र सिस्नेखोला सुरुङमार्ग नजिक पहिरो खसेको छ। चालीस किलोमा ठूलो पहिरो र ढुंगा खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको र दुईवटा मेसिन प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको आयोजनाले जनाएको छ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी खोलालगायतका स्थानमा पनि पहिरो र लेदो खसेको छ। सिमलतालमा सडक भासिएपछि एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

सडक खुलाउन विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको भए पनि पश्चिम खण्ड आजै पूर्णरूपमा सञ्चालनमा ल्याउन कठिन रहेको आयोजनाले जनाएको छ। सडकको अवस्था हेरेर यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।