नारायणी नदीमा पानीको सतहले तोड्यो अहिलेसम्मकै रेकर्ड


चितवन । लगातारको मुसलधारे वर्षापछि नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ। आइतबार दिउँसो १२ बजे देवघाटस्थित जल मापन केन्द्रमा नदीको पानीको सतह ११ दशमलव ८९ मिटर पुगेको हो।

जल मापन केन्द्र स्थापना भएयता नारायणी नदीको पानीको सतह यति उच्च विन्दुमा पुगेको यो पहिलोपटक भएको केन्द्रका सुमित अधिकारीले जानकारी दिए। उनका अनुसार यसअघि २०८१ असोज १२ गते नारायणीको पानीको सतह ११ दशमलव ६ मिटर पुगेको थियो।

त्यस्तै, २०८१ असार २२ गते नदीको पानीको सतह १० दशमलव ४६ मिटर पुगेको थियो। यसपटक ती दुवै रेकर्ड पार गर्दै नारायणीको पानीको सतह नयाँ उच्च विन्दुमा पुगेको अधिकारीले बताए।

जल मापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह ७ दशमलव ३० मिटर पार गरेपछि बहाव मापदण्डभन्दा माथि पुगेको मानिन्छ। नौ मिटरभन्दा माथिको सतहलाई भने खतराको सूचकका रूपमा लिइन्छ।

पानीको सतह ११ दशमलव ८९ मिटर पुगेपछि नारायणी नदी आसपासका तटीय क्षेत्र तथा बस्तीमा बाढीको जोखिम बढेको छ। लगातार वर्षा भइरहेकाले नदीको जलस्तर थप बढ्न सक्ने भन्दै सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।