विराटनगर । श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेठी श्रीमती दिलमाया राईसँगको सम्बन्धबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। उनले आफूहरू कानुनी रूपमा पहिल्यै अलग भइसकेको बताएका छन्।
साम्पाङकी जेठी श्रीमती दिलमायाले आफूलाई कुटपिट गरी घरबाट निकालिएको दाबीसहित सुनसरी जिल्ला अदालतमा दायर गरेको मुद्दाको फैसला अहिले सामाजिक सञ्जालमा चर्चामा छ। दिलमायाले २०७३ असोज ६ गते मुद्दा दायर गरेकी थिइन् भने जिल्ला अदालतले २०७६ असार १२ गते फैसला गरेको थियो।
अदालतको फैसलामा साम्पाङका दाजुभाइ तथा आमासहित पाँच अंशियार कायम गरी सम्पत्तिमा जेठी पत्नी दिलमायाको समेत अंश कायम गर्नुपर्ने उल्लेख छ। फैसलाअनुसार साम्पाङको भागमा पर्ने सम्पत्तिलाई उनी, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाएर दिलमायालाई एक भाग अंश दिनुपर्ने ठहर गरिएको थियो।
दिलमायाको फिरादपत्रमा वैवाहिक जीवनदेखि नै आफूलाई झैँझगडा तथा कुटपिट गर्ने गरेको र साम्पाङले परस्त्रीसँग सम्बन्ध राखेको आरोप लगाइएको थियो। उनले आफूलाई घरबाट निकालिएको दाबीसहित अदालतमा मुद्दा दायर गरेकी थिइन्।
तर, साम्पाङले भने आफूले जेठी श्रीमतीमाथि घरेलु हिंसा नगरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा चर्चामा आएको अदालतको फैसला र दिलमायाले लगाएका आरोपहरू मिथ्या भएको उनको दाबी छ।
कन्टेन्ट क्रिएटरहरूसँग कुरा गर्दै साम्पाङले आफू प्रश्नबाट नभाग्ने बताएका छन्। उनका अनुसार आफूहरूले करिब २० देखि २५ वर्षअघि नै अलग हुने निर्णय गरेका थिए।
‘मैले १२ वर्ष पर्खँदा पनि डिभोर्स नै गर्न चाहेकाले उहाँको इच्छाअनुसार नै छुट्टिएका हौँ,’ साम्पाङले भनेका छन्।
साम्पाङले छोरीको हेरचाह नगरेको भन्ने सामाजिक सञ्जालमा उठेका प्रश्नको समेत खण्डन गरेका छन्। उनले छोरीलाई आफूले पढाएको र विवाह नहुन्जेल आफूसँगै राखेर हुर्काएको दाबी गरेका छन्।





















प्रतिक्रिया