जल सतह बढेपछि कुलेखानी–सिस्नेरी सडक बन्द


हेटौँडा । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढेपछि हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी सडक बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जलाशयको जल सतह निरन्तर बढिरहेकाले जुनसुकै बेला बाँधको ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै सिस्नेरी सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।

प्रशासनका अनुसार कुलेखानीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले जलाशय भरिएर ढोका खोल्नुपर्ने अवस्था आउन सक्नेछ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै असोज ११ गते दिउँसो ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म भैँसे–देउराली–सिस्नेरी–काठमाडौँ तथा पालुङ–सिस्नेरी–देउराली–हेटौँडा सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रशासनले अत्यावश्यक कामका लागि काठमाडौँ–हेटौँडा आवतजावत गर्नुपर्ने यात्रुलाई वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ।

त्रिभुवन राजपथमा समय तालिका

अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी साधनको चाप बढेको प्रशासनले जनाएको छ। चाप व्यवस्थापनका लागि असोज ११ देखि १३ गतेसम्म त्रिभुवन राजपथमा निश्चित समय तालिका लागू गरिएको छ।

हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनका लागि चौकीटोलबाट असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनको समय तोकिएको छ। असोज १२ गते बिहान ४ बजेदेखि १० बजेसम्म र राति ९ बजेदेखि असोज १३ गते बिहान १ बजेसम्म तथा असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ।

त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ११ गते राति १० बजेदेखि असोज १२ गते बिहान १ बजेसम्म, असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते बिहान ६ बजेदेखि ११ बजेसम्मको समय निर्धारण गरिएको छ।

त्रिभुवन राजपथको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै प्रशासनले सवारीको आकार तथा तौलमा समेत कडाइ गरेको छ। इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा बढी पाङ्ग्रा भएका वा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाइएको छ।

यात्रुवाहक सवारीको हकमा भने बढीमा ११ मिटरसम्म लम्बाइ भएका सवारी साधनले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउने प्रशासनले जनाएको छ।