सप्तरी । लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह बढेपछि सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ।
बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५ सय घर डुबानमा परेका छन्। बाढीबाट दुई हजारभन्दा बढी मानिस प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा मात्रै ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेको जनाइएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार शुक्रबार रातिदेखि सप्तकोशी नदीमा पानीको बहाव बढेपछि बस्तीमा बाढी पसेको हो।
बाढी प्रभावित परिवारका लागि नगरपालिकाले तत्काल राहतस्वरूप बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरेको छ। पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री वितरण गर्ने तयारी गरिएको प्रमुख माझीले बताए।
लगातारको वर्षा तथा नदीको जलस्तरमा भइरहेको उतारचढावका कारण सप्तरीका नदी तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।


















प्रतिक्रिया