कुलेखानी जलाशय भरिँदै, देउराली–सिस्नेरी सडक ४ बजेदेखि बन्द


हेटौँडा । लगातारको वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि देउराली–सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फका सवारी सञ्चालनमा रोक लगाइएको हो।

कुलेखानी जलाशयको सतह निरन्तर बढिरहेको र रातको समयमा आकस्मिक अवस्था सिर्जना भई बाँधबाट पानी निकास गर्नुपर्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वसावधानीस्वरूप सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार सवारी सञ्चालन भइरहेका बेला बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आए चेतावनी साइरनका कारण यात्रु तथा चालकमा त्रास उत्पन्न हुनसक्ने र सडकखण्डका केही स्थान जोखिममा पर्न सक्ने भएकाले समयमै आवागमन रोक्न लागिएको हो।

प्रशासनका अनुसार भैंसे हुँदै देउराली–सिस्नेरी जाने तथा काठमाडौँको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडा आउने दुवैतर्फका सवारीसाधन उक्त अवधिमा सञ्चालन गर्न पाइने छैनन्।

अत्यावश्यक रूपमा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। त्रिभुवन राजपथमा समेत जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले हालसम्म कुलेखानी बाँधको ढोका नखोलिएको स्पष्ट पारेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको भन्दै प्रशासनले जलाशय तथा तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको जनाएको छ।