पाल्पामा पहिरोमा पुरिँदा ५ जनाको मृ-त्यु


काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर पाल्पामा पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पञ्जियार थारुका अनुसार शुक्रबार एक जना र शनिबार राति चार जनाको पहिरोमा परी मृत्यु भएको हो।

शुक्रबार रिब्दीकोट गाउँपालिकामा ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको थियो।

त्यस्तै, माथागढी गाउँपालिका–३ भसकटामा शनिबार राति पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्तिमगर, उनकी १९ वर्षीया छोरी दिना घर्तिमगर र सोही घरमा बस्न गएकी १५ वर्षीया झरना घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको शव पहिरोबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको एसपी थारुले जानकारी दिए।

माथागढी गाउँपालिका–२ रक्सेमा पहिरोमा परी ७५ वर्षीय शेरबहादुर चिढी मगरको पनि मृत्यु भएको छ।

शुक्रबारदेखि लगातार परेको वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरो तथा डुबानको जोखिम बढेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा अवस्थाको निगरानी भइरहेको जनाइएको छ।