कालीगण्डकी उर्लिएपछि बेनीमा कटानको जोखिम


म्याग्दी । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान सुरु गरेको छ। नदीको बहाव बढेपछि आइतबार बिहानदेखि बेनी बजारतर्फ कटान सुरु भएको हो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार बेनी–७ गणेशटोल पछाडिको कालीगण्डकी किनारमा निर्माण गरिएको करिब १०० मिटर पक्की तटबन्ध बाढीले भत्काएको छ। तटबन्ध भत्किएपछि नदीले बस्तीपट्टि कटान गर्न थालेको उनले बताए।

कटानको जोखिममा रहेका घरका बासिन्दा तथा सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिकाले थप क्षति हुन नदिन उच्च सतर्कता अपनाएका छन्।

कालीपुल क्षेत्रका केही बासिन्दा भने शनिबार रातिदेखि नै म्याग्दी बहुमुखी क्याम्पसको भवनमा आश्रय लिएर बसेका छन्। बेनी–७ र ८ मा पर्ने बेनी बजारमा पाँच सयभन्दा बढी परिवारको बसोबास रहेको जनाइएको छ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा नदीको सतह खतराको तह पार गरेको बताइएको छ। बाढीले थप कटान गर्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

बाढी र पहिरोका कारण बेनीलाई प्रदेश तथा सङ्घीय राजधानीसँग जोड्ने मालढुंगा–बेनी सडकसमेत अवरुद्ध भएको छ। शनिबार रातिदेखि बेनीमा विद्युत् आपूर्ति बन्द हुनुका साथै खानेपानी सेवा प्रभावित भएको छ भने ग्रामीण क्षेत्रतर्फ जाने सडकहरू पनि अवरुद्ध भएका छन्।