म्याग्दी । निरन्तरको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी आज तीन जनाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ।
अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा पहिरोमा पुरिएका ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरेका छन्।
त्यस्तै, बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर करिब ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने नेपाली सेनाको हेलिकप्टरमार्फत गएको सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ। उनीहरूलाई उद्धार गरी बेनी ल्याउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
मालिका गाउँपालिका–३ औँलामा पहिरोमा परेका व्यक्तिको समेत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए। सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूर्ण गाउँपालिकाका पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित सुरक्षाकर्मीको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ।
अन्नपूर्ण–३ दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयका शिक्षक बाबुराम पौडेलका अनुसार फगाममा गंगाबहादुर पाइजाको घरसमेत पहिरोले पुरिएको छ।
बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण म्याग्दीका विभिन्न सडक तथा विद्युत् सेवा अवरुद्ध भएका छन्। सञ्चार सेवा समेत प्रभावित भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विपद् व्यवस्थापनमा थप कठिनाइ भएको प्रशासनले जनाएको छ।

















प्रतिक्रिया