प्रचण्डको चेतावनी– ‘छोरी पिटेर बुहारी तर्साउने’ काम नगर्नू, सरकारलाई घातक हुन्छ


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बिनाकारण विशिष्ट व्यक्तिलाई पक्राउ गर्ने प्रयास गरे सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

उनले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको हो भने त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने बताए। ‘छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुन्छ’ भन्दै उनले आगामी दिनमा यस्तो कदम नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण गराए।

प्रचण्डले कसैलाई सुरक्षा खतरा रहेको भए पक्राउ गर्नुको साटो सम्बन्धित व्यक्तिको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बताए।

उनले भने, ‘यसरी सरकार चलाउने दुःसाहस भइराखे यसको मूल्य धेरै ठूलो पर्छ र यस्तो घटना नदोहोर्‍याउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’

जबरालाई पक्राउ गर्नुको कारणका रूपमा प्रस्तुत गरिएको सुरक्षा थ्रेटबारे पनि प्रचण्डले प्रश्न उठाए। उनले सुरक्षा खतरा नै रहेको भए सुरक्षा व्यवस्था थप बलियो बनाउनुपर्ने भन्दै पक्राउ गरेर पछि छोडिनुको वास्तविक तथ्य क्रमशः बाहिर आउने बताए।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधनबारे प्रचण्डले मुलुकले भोगिरहेको परिस्थितिका आधारमा त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राखे। प्रधानमन्त्री साहको सम्बोधनलाई लिएर अनावश्यक रूपमा विषयलाई बढाइचढाइ गर्न नहुने उनको भनाइ थियो।