काठमाडौं – भक्तपुरमा पहिलोपटक ठूलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ। आयोजकले बुधबार क्लब बागमतीमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १२ गते भक्तपुरको सल्लाघारी मैदानमा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो।
कार्यक्रमको मुख्य आकर्षण कुमा सागर एन्ड द ख्वपः ब्याण्ड रहनेछ। भक्तपुरमा जन्मिएका कुमा सागरले आफ्नै माटोमा पहिलोपटक ठूलो सांगीतिक कार्यक्रममार्फत प्रस्तुति दिन लागेका हुन्।
कार्यक्रममा कुमा सागर एन्ड द ख्वपः ब्याण्डसँगै मुक्ति एन्ड रिभाइभल तथा निभाः डंगोल एन्ड चबाही दबुले पनि प्रस्तुति दिनेछन्।
संगीतसँगै भक्तपुरको मौलिक कला, संस्कृति र जीवनशैलीलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा परम्परागत सांस्कृतिक प्रस्तुति, लाइभ संगीत, खाना तथा जीवनशैलीसँग सम्बन्धित विभिन्न स्टल रहने आयोजकले जनाएको छ।
लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सको संयुक्त आयोजनामा हुने कार्यक्रमको मुख्य प्रायोजक एक्सट्रीम एनर्जी ड्रिंक रहेको छ। आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन दर्शकले एक्सट्रीम एनर्जी ड्रिंकको खाली क्यान ल्याए पुग्नेछ।
कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उद्देश्यसँग समेत जोडिएको छ। आयोजकका अनुसार प्रायोजन तथा स्टल भाडाबाट प्राप्त हुने व्यावसायिक आम्दानीको ५० प्रतिशत भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिनेछ।
त्यस्तै, कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत सीबीआरओलाई प्रदान गरिने आयोजकले जनाएको छ।
भक्तपुरको कला, संस्कृति र संगीतलाई एउटै मञ्चमा प्रस्तुत गर्दै समुदायसँग जोडिने उद्देश्यले ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।






















प्रतिक्रिया