देशभर आज देउवा पक्षधर कांग्रेसको वडा अधिवेशन


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर समूहले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आजदेखि सुरु गर्ने भएको छ।

नेपाली कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो। देउवा पक्षले आफ्नो महाधिवेशन मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ।

सोही कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ। समूहले उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको जनाएको छ।

देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइएको छ। वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको उनले बताए।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै तत्काल महाधिवेशन गर्न नहुने धारणा देउवा पक्षले राख्दै आएको थियो। संस्थापन पक्षले भने असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि आफ्नो छुट्टै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया थालेको हो।

महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्ने बताएका छन्। उनले नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

देउवा पक्षधर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै पार्टीको आधिकारिक कार्यसमिति भएको दाबी गर्दै आएको छ। यही कारण संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा आफूहरू सहभागी नभएको समूहको भनाइ छ।