काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष राजवंशीले एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारको कार्यशैलीमाथि उठाएको प्रश्नको जवाफ दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई विभिन्न शैलीसँग तुलना गर्दै ‘यो कस्तो सरकार हो ?’ भन्दै प्रश्न गरेका थिए ।
पोखरेलले संसद्मा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले संवैधानिक सरकारजस्तो देखिए पनि आफ्नै दलको बैठकमा सहभागी नहुने भएकाले निर्दलीय, सर्वदलीय बैठकमा सहभागी नहुने भएकाले एकदलीय तथा राष्ट्रपतिलाई नजरअन्दाज गर्ने कार्यशैलीका कारण ‘श्री ३ महाराज’ जस्तो देखिएको टिप्पणी गरेका थिए ।
जवाफमा सांसद राजवंशीले बालेन्द्र शाह नेतृत्वको सरकार नेपाली राजनीतिमा ‘क्रमभंगता’ गरेर आएको सरकार भएको दाबी गरे । उनले यो नियमित निर्वाचन प्रक्रियाबाट बनेको नभई जनताको जनमतबाट अनुमोदित सरकार भएको बताए ।
राजवंशीले भने, ‘यो नेपाली राजनीतिको एउटा क्रमभंगता गरेर आएको नयाँ सरकार हो । जनताको जनमतबाट अनुमोदित भएको सरकार हो । हामी संसद्को बहुमत प्राप्त सरकार हौँ ।’
उनले सरकारले भ्रष्टाचार न्यूनीकरण गर्ने तथा राज्य संयन्त्र कमजोर पार्ने प्रवृत्तिविरुद्ध काम गर्ने दाबी गरे । राज्य संयन्त्र कमजोर पार्ने तथा विगतमा भ्रष्टाचार गरेर राज्यलाई कमजोर बनाएको आरोप लागेका प्रवृत्तिलाई लक्षित गर्दै उनले सरकार ‘सुन्ने र थुन्ने’ सरकार भएको टिप्पणी गरे ।
राजवंशीले भने, ‘जो राज्य संयन्त्र कमजोर गर्न लाग्छ, सरकारमा बसेर हिजोको दिनमा भ्रष्टाचार गरेर जसले राज्यलाई सकाएको छ, ती प्रवृत्तिहरूलाई सुन्ने र थुन्ने सरकार हो।’
उनले सरकार कुनै निश्चित समूह वा व्यक्तिको हितअनुसार नभई राज्यलाई कमजोर पार्ने गतिविधिविरुद्ध काम गर्ने दाबीसमेत गरे ।






















प्रतिक्रिया