दुबई उडान घटनालाई लिएर ट्रम्पको चेतावनी, इरान जोडिए कडा कारबाही


ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरानको संलग्नता पुष्टि भए कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताए। उनले इरान जिम्मेवार रहेको पुष्टि भए त्यसले कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन्।

विमान उडिरहेका बेला सह–पाइलटले कप्तानमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रण लिन चालकदलबीच संघर्ष भएको थियो। त्यसपछि विमानलाई साउदी अरेबियामा आपत्कालीन अवतरण गराइएको थियो। यात्रुलाई पछि अर्को उडानमार्फत इजरायल पठाइएको थियो।

साउदी अरेबियाको प्रारम्भिक अनुसन्धानले सह–पाइलटले कप्तानमाथि आक्रमण गरेको देखाएको जनाइएको छ। घटनाबारे युएईका प्रमुख अभियोजकले आतंकवादी गतिविधि वा त्यस्तो उद्देश्य भए–नभएको विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित रहेको दाबी गर्दै विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लगाएका छन्। उनले सह–पाइलट ओमानी नागरिक रहेको र इजरायलसँग कूटनीतिक सम्बन्ध नभएको देशका नागरिकलाई इजरायल जाने उडानमा काम गर्न दिइएको विषयमा समेत छानबिन हुने बताएका छन्।

भारतीय नागरिक क्याप्टेन स्मिट मच्छरमाथि आक्रमण भएपछि यात्रुहरूले सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। फ्लाइटराडार२४ का अनुसार विमान एक मिनेटमा करिब १७ हजार फिट तल झरेको थियो। घाइते क्याप्टेन मच्छरको अवस्था राम्रो रहेको भारतीय दूतावासले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्।

फ्लाईदुबईले चालकदलका अर्का सदस्यले विमानलाई सुरक्षित रूपमा अवतरण गराएको जनाएको छ। अनुसन्धान जारी रहेकाले इजरायलका लागि उडान स्थगित गरिएको कम्पनीले जनाएको छ।

यसैबीच, मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बढिरहेका बेला ट्रम्पको चेतावनी आएको हो। ‘एक्सियोस’ का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ भने यूएसएस थियोडोर रुजवेल्ट विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्वतर्फ अघि बढिरहेको छ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले सह–पाइलटलाई नियन्त्रणमा लिन तथा विमानलाई दुर्घटनाबाट जोगाउन सहयोग गर्ने पाँच इजरायली नागरिकलाई सम्मान गर्ने बताएका छन्।