शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।

नेपाली कांग्रेसको इतर समूहले बिहीबार गरेको वडा अधिवेशनबाट देउवा डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। अधिवेशनबाट उनी सर्वसम्मत वा बहुमतका आधारमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्रमा उल्लेख गरिएको छ।

क्षेत्रीय प्रतिनिधिमा चयन भएसँगै देउवालाई अब महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बन्ने बाटो खुलेको छ। सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन भएपछि मात्रै उनी कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन पाउनेछन्।

इतर समूहले असोज २४ गते क्षेत्रीय अधिवेशन गर्ने मिति तय गरेको छ। उक्त अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएसँगै कांग्रेसको आगामी महाधिवेशनमा उनको सहभागिताको प्रक्रिया पनि अघि बढेको छ।