काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै महाधिवेशनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। उनका अनुसार प्रतिनिधि छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।
देश शोकमा रहेको अवस्थालाई ध्यानमा राख्दै महाधिवेशनमा विगतमा जस्तो झाँकी तथा तामझाम नगर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले बताए।
उनले महाधिवेशनलाई मितव्ययी ढंगले सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए। ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेका छौँ। प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू, झकिझकाउ धेरै देख्नुहुने छैन,’ उनले भने।
देशमा ठूलो विपत्ति आएको अवस्थामा महाधिवेशन गर्नुपर्ने भएकाले खर्च र भड्किलो कार्यक्रमलाई प्राथमिकता नदिइएको उनको भनाइ थियो।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि बिहान, दिउँसो र बेलुकाको खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ। तर प्रतिनिधिको बासको व्यवस्था भने आफैँले गर्नुपर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसले काठमाडौंमा १५औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनको उद्घाटन तथा अन्य कार्यक्रमका लागि आवश्यक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।






















प्रतिक्रिया