काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भई कार्यक्रम उद्घाटन गरिदिन निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको औपचारिक उद्घाटनका लागि देउवालाई प्रस्ताव गरिएको जानकारी दिएका हुन्।
प्रवक्ता चालिसेका अनुसार निवर्तमान सभापतिको हैसियतमा देउवाबाट महाधिवेशन उद्घाटन गराउने प्रस्ताव गरिएको हो। महाधिवेशनमा देउवाको उपस्थितिले पार्टीका नेता तथा कार्यकर्तामा सकारात्मक ऊर्जा थप्ने अपेक्षा कांग्रेसले गरेको उनले बताए।
‘हामीले पूर्वसभापतिको हैसियतमा महाधिवेशनको उद्घाटन गरिदिनका लागि देउवाजीलाई अनुरोध गरेका छौँ,’ चालिसेले भने, ‘उहाँले उद्घाटन गरिदिँदा देशभरबाट भेला भएका हाम्रा हजारौँ साथीहरू उत्साहित हुनुहुनेछ र यसले पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।’
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि काठमाडौंमा भेला हुने क्रम जारी छ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ।
देशमा पछिल्लो समय विपद्का कारण शोकको अवस्था रहेकाले महाधिवेशनलाई मितव्ययी र सादगीपूर्ण रूपमा सम्पन्न गर्ने तयारी गरिएको कांग्रेसले यसअघि नै जनाएको छ। महाधिवेशनमा विगतमा जस्तो झाँकी तथा भड्किलो तामझाम नगर्ने निर्णयसमेत गरिएको छ।






















प्रतिक्रिया