काठमाडौं । नेपाली कांग्रेसले १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधान संशोधन गर्ने भएको छ। विधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले आवश्यक छलफल र सुझाव संकलनको काम गरिरहेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा विधान संशोधनका विषयमा समितिले काम गरिरहेको जानकारी दिएका हुन्।
उनका अनुसार मौजुदा विधानमा आवश्यकताअनुसार थपघट तथा परिवर्तनका प्रस्ताव महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ। ती प्रस्तावमाथि छलफल गरी महाधिवेशनबाट पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने उनले बताए।
‘उहाँहरूले छलफल र सुझाव लिने क्रम जारी राख्नुभएको छ। मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना छ, किनकि त्यसको सर्वाधिकार महाधिवेशनले राख्दछ,’ चालिसेले भने, ‘महाधिवेशनको हलमा हामीले आफ्ना प्रस्तावहरू लानेछौँ। ती प्रस्तावमाथि छलफल भएपछि पारित हुनेछन् र त्यसपछि निर्वाचनको प्रक्रिया प्रारम्भ हुनेछ।’
कांग्रेसको महाधिवेशनको उद्घाटन सत्र १८ गते हुने र १९ तथा २० गते बन्दसत्रमा विभिन्न विषयमा छलफल हुने प्रवक्ता चालिसेले जानकारी दिए। उनका अनुसार २१ र २२ गतेबाट निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
महाधिवेशनबाट पार्टीको मूल नेतृत्व चयनको विषयमा प्रश्न नरहेको उल्लेख गर्दै उनले अन्य पदका विषय भने लोकतान्त्रिक प्रक्रियाबाट टुंगो लाग्ने बताए।
चालिसेले महाधिवेशनको उद्देश्य नेतृत्व चयनमा मात्र सीमित नरहेको बताए। पार्टीले आगामी दिनमा लिने नीति, दिशा र संगठनलाई जनअपेक्षाअनुसार अघि बढाउने विषय पनि महाधिवेशनको महत्वपूर्ण एजेन्डा रहेको उनको भनाइ छ।
‘अधिवेशनको महत्त्व नेतृत्व चयन मात्रै होइन, पार्टीले लिने आगामी दिशा पनि अर्थपूर्ण रहन्छ,’ उनले भने, ‘जनताको मनले खोजेको कांग्रेस, जनताले रोजेको कांग्रेस र जनताले कस्तो खालको कांग्रेस बनाउने भन्नेमा हाम्रो प्रयत्न हुन्छ।’






















प्रतिक्रिया