काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सातवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ।
बैठकमा पेस भएका प्रस्तावमध्ये एउटा विधेयक बहुमतबाट र बाँकी विधेयक सर्वसम्मतिले स्वीकृत भएका हुन्। सभामुखको अनुमतिमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
त्यसैगरी प्रधानमन्त्री तथा रक्षामन्त्री साहकै तर्फबाट मन्त्री गौतमले प्रस्तुत गरेको ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३’ पनि प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाइएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रस्तुत गरेको ‘फोहोरमैला व्यवस्थापन विधेयक २०८३’ तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गरेको ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८३’ पनि सर्वसम्मतिले समितिमा पठाउने निर्णय भएको छ।
बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित चारवटा विधेयकलाई समेत दफावार छलफलका लागि समितिमा पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गरेका ‘आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण (पहिलो संशोधन) विधेयक २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०८३’ सर्वसम्मतिले स्वीकृत भएका हुन्।
प्रतिनिधि सभाको निर्णयसँगै यी विधेयकहरू अब सम्बन्धित संसदीय समितिमा दफावार छलफलको प्रक्रियामा जानेछन्।






















प्रतिक्रिया