कांग्रेस महाधिवेशन : आचारसंहिता उल्लंघन गरे उम्मेदवारमाथि कारबाही हुने


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दिनेहरूलाई लक्षित गर्दै केन्द्रीय निर्वाचन समितिले चार बुँदे आचारसंहिता जारी गरेको छ।

राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै महाधिवेशनलाई अनुशासित, मर्यादित र मितव्ययी बनाउन आचारसंहिता कडाइका साथ लागू गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

निर्वाचन समितिले विपद्को घडीमा देश र जनताप्रतिको दायित्वलाई ध्यानमा राख्दै आचारसंहिताको पूर्ण पालना गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकहरूलाई अपिल गरेको छ। आचारसंहिता उल्लंघन गर्नेहरूमाथि नियमानुसार कारबाही हुने समितिले चेतावनी दिएको छ।

समितिले जारी गरेको आचारसंहिताअनुसार महाधिवेशनमा तडकभडक र भड्किलो प्रचारप्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन कुनै पनि प्रकारका भड्किला प्रचार अभियान गर्न नपाइने व्यवस्था गरिएको छ।

त्यस्तै, महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायतका कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न प्रतिबन्ध लगाइएको छ। महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न निषेध गरिएको छ।

उम्मेदवारहरूले आफ्ना एजेन्डा तथा उम्मेदवारीसम्बन्धी विवरण भने डिजिटल माध्यमबाट मात्रै प्रचारप्रसार गर्न पाउनेछन्। सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट उम्मेदवारी र एजेन्डा सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले महाधिवेशनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै उम्मेदवार तथा प्रतिनिधिहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।