नेपाली व्यवसायीको २ करोड ३० लाख डलर लगानीमा होटल सञ्चालन


काठमाडौं – अमेरिकाको नर्थ क्यारोलाइनास्थित मेबेन शहरमा नेपाली व्यवसायीहरूको समूहले करिब २ करोड ३० लाख अमेरिकी डलर लगानीमा चेन होटल सञ्चालनमा ल्याएको छ।

‘लाकिन्ता इन एन्ड हनथ्रोन एक्सेन्डेड स्टे’ नामका दुई ब्रान्ड एउटै भवनबाट सञ्चालन हुने होटलको सेप्टेम्बर २४ मा विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको हो।

१०३ कोठा रहेको होटलमा गैरआवासीय नेपाली व्यवसायी सुमित सञ्जेल, सुधीर मरहठ्ठा र राधेश पण्डितलगायतको लगानी रहेको छ। अलामान्स चेम्बरले आयोजना गरेको उद्घाटन समारोहमा सञ्जेल, मरहठ्ठा र पण्डितले संयुक्त रूपमा रिबन काटेर होटलको शुभारम्भ गरेका थिए।

समारोहमा साझेदार राधेश पण्डितले जग्गा खरिददेखि अनुमति, निर्माण र उद्घाटनसम्मको प्रक्रिया पूरा गर्न करिब आठ वर्ष लागेको बताए। उनका अनुसार यो लगानीकर्ता समूहको स्वामित्व तथा सञ्चालनमा रहेको आठौँ होटल हो।

अर्का लगानीकर्ता सुमित सञ्जेलले होटल सञ्चालनमा आएपछि पाहुनाबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताए।

उद्घाटन समारोहमा अलामान्स चेम्बरकी अध्यक्ष रेगन सी. गुराल, अलामान्स काउन्टी बोर्ड अफ कमिसनर्सकी अध्यक्ष केली एलेन तथा मेबेनका मेयर एड हुक्सलगायत स्थानीय अधिकारीहरूको उपस्थिति थियो। उनीहरूले नेपाली व्यवसायीको नयाँ लगानीको स्वागत गरेका थिए।

पछिल्लो समय अनुकूल मौसम, शिक्षा तथा रोजगारीका अवसरका कारण नर्थ क्यारोलाइनामा नेपाली समुदायको उपस्थिति बढ्दै गएको छ। त्यससँगै नेपाली व्यवसायीहरूको लगानी पनि विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ।