गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुन्छ: गृहमन्त्री गुरुङ


काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले पदीय हैसियतको दुरुपयोग गरी गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्।

उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्। उनका अनुसार राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी हुन्।

‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ गुरुङले भनेका छन्। उनले सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।

गृहमन्त्रीको यस्तो भनाइ सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल संवेदनशील सुरक्षा सूचना चुहावटको आरोपमा निलम्बित भएको भोलिपल्ट आएको हो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको आरोप लगाउँदै निलम्बन गरेको र घटनाबारे तीन दिनभित्र जाँचबुझ गरी प्रतिवेदन बुझाउन अधिकृत तोकेको छ।

यद्यपि, दाहालले वास्तवमा कुन सूचना कसलाई र कसरी चुहाएको भन्ने विषयमा गृह मन्त्रालयले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। त्यसबारे छानबिन प्रक्रिया अघि बढिरहेको छ।