उम्मेदवारी दाबी–विरोधको समय २ घण्टा थप्यो कांग्रेसले


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन फिर्ता, नाम सच्याउने तथा दाबी–विरोध गर्ने समय दुई घण्टा थप गरिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसअघि बिहान १० बजेदेखि १२ बजेसम्म तोकिएको समयलाई बढाएर आज दिउँसो २ बजेसम्म कायम गरिएको जनाएको छ।

निर्वाचन समितिका अनुसार प्रकाशित उम्मेदवारको नामावलीमा मनोनयन फिर्ता लिन, नाम सच्याउन निवेदन दिन वा उम्मेदवारी दर्ता भए पनि नाम छुटेको भए त्यससम्बन्धी दाबी गर्न इच्छुक प्रतिनिधिले दिउँसो २ बजेसम्म निर्वाचन समितिमा सम्पर्क गर्नुपर्नेछ।

समितिले निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई सूचित गरेको छ। त्यसपछि निर्वाचन प्रक्रियाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम अघि बढाइनेछ।