एमाले स्थायी कमिटी बैठक बोलाइयो, विद्या भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा सहभागी हुने


काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको बैठक बिहीबार बोलाएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि बस्न लागेको यो पहिलो स्थायी कमिटी बैठक हो। त्यसैले भण्डारी वरिष्ठ नेताको हैसियतमा पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुने भएकी छन्।

एमाले केन्द्रीय कमिटीको पछिल्लो बैठकले स्थायी कमिटीमा पार्टीका सम्पूर्ण पदाधिकारी रहने व्यवस्था गरेको थियो। त्यससँगै स्थायी कमिटीमा थप सात जनालाई सदस्यका रूपमा मनोनयन गरिएको थियो। सोही बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गर्ने निर्णयसमेत गरेको थियो।

स्थायी कमिटीमा पार्टीका पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन्।

बिहीबारको बैठकले केन्द्रीय कमिटीबाट प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टीका विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरेको छ। बैठकबाट केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा विभिन्न विभागका सदस्यहरूको जिम्मेवारीसमेत टुंगो लगाउने तयारी रहेको आचार्यले बताएका छन्।

पछिल्लो केन्द्रीय कमिटी बैठकबाट एमालेले संगठनात्मक संरचना तथा पार्टीका विभिन्न तहमा जिम्मेवारीसम्बन्धी महत्वपूर्ण निर्णय गरेपछि स्थायी कमिटी बैठकलाई संगठन व्यवस्थापनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

यस बैठकले पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित गर्ने तथा विभिन्न तहमा जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।