काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी अघि बढेको छ। गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भएको भेटवार्तामा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको स्रोतले जनाएको छ।
मंगलबार सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकपछि गुरुङ र शाहबीच भेटवार्ता भएको थियो। सो क्रममा दुई देशबीचको सम्बन्ध, द्विपक्षीय सुरक्षा सहयोग, सीमा व्यवस्थापन तथा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे चर्चा भएको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेनलाई मंसिर ७ गते भारत भ्रमणमा लैजाने गरी छलफल भएको छ। प्रस्तावित कार्यक्रमअनुसार उनको भ्रमण मंसिर ९ गतेसम्म रहनेछ। यद्यपि, भ्रमणको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन।
भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले पनि गृहमन्त्रीद्वयबीच भएको भेटवार्तामा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको पुष्टि गरेका छन्। उनले भ्रमणको मिति भने खुलाउन चाहेनन्।
थापाका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो। दुवै पक्षबाट भ्रमणको तयारी भइरहेको र आपसी सहमतिमा मिति तय गरिने उनले बताएका छन्।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले एजेन्डाबारे गृहकार्य गरिरहेका छन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मंसिर ७ गतेलाई आधार मानेर आवश्यक तयारीसमेत थालिएको छ।
पूर्वाधार र विपद् सहयोग मुख्य एजेन्डा
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा भौतिक पूर्वाधार निर्माण तथा विगतमा भएका द्विपक्षीय सम्झौता र तिनको कार्यान्वयन मुख्य विषय बन्न सक्नेछन्।
भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिपछि भारतले थप सहयोग गर्न चाहेको बताइएको छ। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा आवश्यक सहयोगका विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।
त्यस्तै, भारतको सहयोगमा निर्माण भएका केही परियोजनाको उद्घाटन गर्ने तयारीसमेत भइरहेको छ। नेपाल प्रहरी एकेडेमी, भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) र दार्चुलास्थित महाकाली नदीमाथिको पुल उद्घाटन गर्ने विषयमा तयारी भइरहेको बताइएको छ।
भ्रमणअघि उच्चस्तरीय भेटघाट तीव्र
प्रधानमन्त्रीको भारत भ्रमणअघि दुवै देशबाट उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले असोज १ गते भारत भ्रमणमा गएका थिए। त्यसैगरी, गृहमन्त्री गुरुङ भारत जानुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा पनि भारत पुगेका थिए।
झा पार्टीको प्रवास कमिटीसँग छलफल गर्न भारत गएको बताइए पनि उनले केही उच्चस्तरीय भेटघाटसमेत गरेको स्रोतको दाबी छ।
गृहमन्त्री गुरुङको भारत भ्रमणभन्दा एक दिनअघि भारतीय सेनाका एडजुटेन्ट जनरल लेफ्टिनेन्ट जनरल वीरेश प्रताप सिंह कौशिक नेपाल आएका थिए। उनले भारतीय दूतावासका अधिकारीसँग नेपाल–भारत सम्बन्धबारे छलफल गरेको र केही उच्चस्तरीय भेटघाटसमेत गरेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको भ्रमणअघि थप उच्चस्तरीय भ्रमण हुन सक्ने अधिकारीहरूको भनाइ छ।
मोदीको निम्तोपछि बालेनको भारत भ्रमणको तयारी
२०८२ चैतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै बालेनलाई भारत भ्रमणको निम्तो आएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाई दिने क्रममा भ्रमणको निम्तो दिएका थिए। त्यसपछि लिखित निम्तोसमेत पठाइएको थियो।
निम्तो स्वीकार गरे पनि बालेनले तत्काल भारत भ्रमण गर्ने तयारी गरेका थिएनन्। उनले एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने बताउँदै आएका थिए।
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा ढिलाइ भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) ले निम्तो दिएको थियो। भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसहित विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए।
अहिले प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी अघि बढेको भए पनि भ्रमणको मिति र औपचारिक कार्यक्रमबारे दुवै देशबाट आधिकारिक घोषणा हुन बाँकी छ।

















प्रतिक्रिया