मुम्बई । अनुमति नलिई विरोध प्रदर्शनमा सहभागी भएको भन्दै मुम्बई प्रहरीले अभिनेता इमरान खानलाई अक्टोबर २८ सम्ममा भारत छाड्न निर्देशन दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उनलाई यससम्बन्धी नोटिस जारी गरेको हो।
इमरान खान अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए। उक्त प्रदर्शनमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिएको थियो। प्रदर्शनमा सहभागी भएपछि सोही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
यसअघि पनि इमरान जुलाई २२ र २३ मा राष्ट्रिय प्रवेश तथा योग्यता परीक्षा (नीट) को प्रश्नपत्र चुहावटको विरोधमा ककरोच जनता पार्टीले आयोजना गरेको प्रदर्शनमा सहभागी भएका थिए।
प्रहरीका अनुसार इमरान भारतीय नागरिक नभई विदेशी नागरिक हुन्। विदेशी नागरिक भएर अनुमति नलिई विरोध प्रदर्शनमा सहभागी भएको विषयमा उनीविरुद्ध अध्यागमनसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।
इमरान खानको जन्म अमेरिकाको विस्कन्सिनमा भएको हो। उनीसँग अमेरिकी नागरिकता र अमेरिकी पासपोर्ट रहेको बताइएको छ। भारतमा बस्न तथा काम गर्न उनले ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसीआई) कार्ड प्रयोग गर्दै आएका छन्।
भारतमा विदेशी नागरिकको प्रवेश, बसाइ र गतिविधिलाई अध्यागमन तथा विदेशी नागरिक ऐन, २०२५ ले नियमन गर्छ। उक्त कानुनअन्तर्गत विदेशी नागरिकले पालना गर्नुपर्ने सर्त उल्लङ्घन गरेमा कानुनी कारबाही हुन सक्छ। इमरानलाई जारी गरिएको नोटिस पनि विदेशी नागरिकका रूपमा भारतमा रहँदा पालना गर्नुपर्ने नियमसँग सम्बन्धित रहेको जनाइएको छ।
















प्रतिक्रिया