दसैँपछि सुन बजारमा ठूलो गिरावट, सुन सस्तियो


काठमाडौँ । दसैँपछिको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ।

महासंघका अनुसार असोज ३० गते प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ रहेको सुनको मूल्य आइतबार घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। दसैँपछि बजार खुलेसँगै सुनको मूल्यमा ठूलो गिरावट देखिएको हो।

त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ। दसैँअघि प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ५५८ रुपैयाँ थियो।