जागरण अभियानका लागि नेकपाले खटायो नेता, कसलाई कहाँको जिम्मेवारी ?


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अभियानको शुभारम्भ गरेका हुन् ।

आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत नेकपाले पार्टी संगठन सुदृढीकरण, जनपरिचालन र महाधिवेशनको तयारीलाई समेत अघि बढाउने लक्ष्य लिएको छ ।

अभियानलाई प्रभावकारी बनाउन पार्टीले केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताको कार्यविभाजन गरेको छ । संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेताहरूको जिम्मेवारी तोकेर सर्कुलर जारी गरेका छन् ।

सर्कुलरअनुसार केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूलाई देशभरका विभिन्न जिल्लासँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ । उनीहरूलाई आफू मतदाता रहेको प्रदेशमा खटाइनेछ । सम्बन्धित प्रदेशका पार्टी समितिसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन र समन्वय गर्दै अभियान तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारीसमेत उनीहरूलाई दिइएको छ ।

पार्टीका सबै केन्द्रीय सदस्यदेखि प्रदेश, जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्तासम्मलाई आफूहरूको मतदाता नामावली रहेको क्षेत्रमा परिचालित हुन निर्देशन दिइएको छ । गत निर्वाचनमा उम्मेदवार बनेका नेताहरू भने आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा खटिनुपर्ने सर्कुलरमा उल्लेख छ ।

प्रादेशिक जिम्मेवारी नतोकिएका केन्द्रीय सदस्यहरूलाई पनि आफू मतदाता रहेको प्रदेशअन्तर्गत अभियानको जिम्मेवारी दिइनेछ । केन्द्रीय सदस्यहरूले पालिका र वडा तहमा सञ्चालन हुने अभियान टोलीको नेतृत्व गर्नेछन् ।

त्यसैगरी, प्रदेश समितिहरूले आफ्ना प्रदेशअन्तर्गतका केन्द्रीय सदस्यसँग समन्वय गरेर संगठनात्मक सुदृढीकरण, वैचारिक गतिविधि र जनपरिचालनका कामलाई अगाडि बढाउनेछन् । प्रदेशगत जिम्मेवारी तोक्न बाँकी रहेका केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि अभियानका क्रममा निर्धारण गरिने सर्कुलरमा उल्लेख छ ।

प्रादेशिक जिम्मेवारीमा नरहेका केन्द्रीय संयोजन समितिका सदस्यहरूलाई पनि अभियान अवधिका लागि विभिन्न प्रदेशमा खटाइनेछ । विभाग, मोर्चा र जनवर्गीय संगठनमा जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरूलाई समेत आफू मतदाता रहेको क्षेत्रमा परिचालित हुन निर्देशन दिइएको छ ।

प्रवासमा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई पनि आफू कार्यरत देशमै अभियानमा सहभागी गराउने गरी सम्बन्धित प्रदेशले कार्यविभाजन गर्ने नेकपाको तयारी छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमार्फत पार्टीको संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण र महाधिवेशनको तयारीलाई एकसाथ अघि बढाउने नेकपाको योजना छ ।