ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्ड प्रस्थान


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) द्वारा आयोजित सम्मेलनलाई उनले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीको संयुक्त आयोजनामा हुने ‘सगरमाथादेखि सागरसम्म: एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्नेछन् ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीहरूसँग साइडलाइन वार्ता गर्ने उनका प्रमुख स्वकीय सचिव सञ्जिव महर्जनले जानकारी दिए । सम्मेलनमा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग तथा जलवायु क्षतिपूर्तिसम्बन्धी विषय उठाउने तयारी रहेको महर्जनले बताए ।

मन्त्री श्रेष्ठको भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन् ।

मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।