रुपन्देही । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी डोल्मा नियुक्त भएको विरोधमा प्रदर्शन गरेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँन रिहा भएका छन् । पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा प्रहरीले नियन्त्रणमा लिएका खानलाई केही समयपछि रिहा गरेको हो ।
खानका अनुसार प्रहरीले उनलाई राति करिब साढे १० बजे प्रसाद चोकबाट नियन्त्रणमा लिएको थियो । होटलतर्फ जाँदै गर्दा प्रहरीले रोकेको र आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्याएको उनको आरोप छ ।
त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको खानले बताएका छन् । बिहान प्रहरी अधिकारीहरूसँग छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाइ फकरुद्दिन खाँनको जिम्मा लगाएर आफूलाई रिहा गरिएको उनले जानकारी दिए ।
छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको खानले बताए ।
लुम्बिनीको संरक्षण र विकासका लागि अभियान जारी रहने
पत्रकारहरूसँग कुरा गर्दै खानले लुम्बिनीको हकहित र विकासका लागि आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए । सरकारका कदम र लुम्बिनीप्रतिको बेवास्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन तथा सभा आयोजना गर्नुका साथै मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उनको भनाइ छ ।
मन्त्रीको पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि र आक्रोशको अभिव्यक्तिका रूपमा व्याख्या गरे । लुम्बिनीको विकास, संरक्षण र स्थानीयको हितका सवालमा सरकार गम्भीर हुनुपर्ने उनको माग छ ।
खानले आफूहरू कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने स्पष्ट पारे ।
“हामी भाग्ने मान्छे होइनौँ । मन्त्रीको पुत्ला जलाइएको हो र यसमा हामी पछि हट्दैनौँ । तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण रूपमा आफ्ना माग राख्छौँ,” उनले भने ।
आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुने पनि खानले बताए । लुम्बिनीको नाममा राजनीति बन्द गर्न र यस क्षेत्रलाई बुद्धमय बनाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक ढंगले काम गर्नुपर्ने उनको आग्रह छ ।
यसै घटनामा सार्वजनिक स्थलमा उच्छृङ्खल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा पक्राउ परेका अर्का व्यक्ति वाजिउद्दिन मुसलमानलाई पनि प्रहरीले रिहा गरेको छ ।

















प्रतिक्रिया