काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको मौलिक संस्कृति, परम्परा, सम्पदा र ओझेलमा परेका कथालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिने बताएकी छन्।
‘काठमाडौँ फिल्म फेस्टिभल २०८३’ बारे जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा डंगोलले काठमाडौँको सांस्कृतिक पहिचानलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइन्।
उनका अनुसार महोत्सवले काठमाडौँका मूर्त तथा अमूर्त सम्पदा, मौलिक परम्परा र अहिलेसम्म पर्याप्त रूपमा बाहिर आउन नसकेका कथालाई चलचित्रका माध्यमबाट उजागर गर्नेछ। यसले काठमाडौँको सांस्कृतिक विशेषता विश्वमाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यवाहक प्रमुख डंगोलले काठमाडौँ युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधाको सदस्य नगर रहेको उल्लेख गर्दै काठमाडौँलाई कथै कथाको सहरका रूपमा व्याख्या गरिन्। महानगरले चलचित्र क्षेत्रलाई समुदाय र शिक्षासँग जोड्दै प्राज्ञिक तथा प्राविधिक उद्योगका रूपमा विकास गर्न खोजेको उनको भनाइ थियो।
कात्तिक १३ देखि १५ गतेसम्म महोत्सव
‘काठमाडौँ फिल्म फेस्टिभल २०८३’ यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। महोत्सवमा विभिन्न देशका चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा भारतीय चलचित्र उद्योगकी प्रख्यात अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मी तथा फिल्म क्षेत्रका विज्ञहरूको सहभागिताले चलचित्रसम्बन्धी अनुभव, ज्ञान र सिर्जनात्मक अभ्यास आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
‘कुमारी’ र ‘के घर के डेरा’ पनि प्रदर्शन हुने
महोत्सवमा विभिन्न देशका चलचित्रसँगै नेपाली चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शनसमेत राखिएको छ। महोत्सवअन्तर्गत प्रदर्शन हुने सम्पूर्ण चलचित्र निःशुल्क हेर्न सकिने जनाइएको छ।
काठमाडौँको मौलिक संस्कृति, परम्परा र सम्पदालाई चलचित्रसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनु महोत्सवको प्रमुख उद्देश्य रहेको छ। साथै, चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी समुदाय, शिक्षा, सिर्जनशीलता र प्राविधिक विकाससँग जोड्ने महानगरको प्रयासका रूपमा पनि यसलाई हेरिएको छ।

















प्रतिक्रिया