नागरिक उन्मुक्ति पार्टीको बैठकको मिति परिवर्तन


काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सरेको छ । कात्तिक १३ र १४ गतेका लागि तय भएको बैठक मंसिर ५ र ६ गते बस्ने गरी सारिएको हो ।

पार्टीका अध्यक्ष कबिर सोपका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते भारी वर्षा हुने पूर्वानुमानसहित सूचना जारी गरेपछि बैठकको मिति परिवर्तन गरिएको हो ।

यसअघि कात्तिक १३ र १४ गतेका लागि तय गरिएको बैठक अब मंसिर ५ र ६ गते कैलालीको टीकापुरस्थित पार्टी कार्यालयमा बस्ने अध्यक्ष सोपले जानकारी दिए ।

बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ । त्यसैगरी, आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारी र पार्टीले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बैठक सारिएको पार्टीले जनाएको छ ।