कांग्रेसले तोक्यो प्रदेश र जिल्ला अधिवेशनको समय, मङ्सिरमा चुनाव


काठमाडौँ । नेपाली कांग्रेसको बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गरिने भएको छ । नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले तय गर्ने जानकारी दिएका छन् ।

महामन्त्री राणाका अनुसार अधिवेशन छठलगत्तै वा मङ्सिरको अन्तिमतिर हुन सक्नेछ । ‘बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा गरिसक्छौँ । उनले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथपछि बस्ने बैठकले अधिवेशनको मिति निर्धारण गर्ने बताए ।

कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो । त्यसक्रममा केन्द्रीय महाधिवेशनका लागि आवश्यक अधिवेशनलाई प्राथमिकता दिँदै जिल्ला र प्रदेश अधिवेशन पछि गर्ने निर्णय गरिएको थियो । वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सम्पन्न गरेर केन्द्रीय महाधिवेशन गरिएको थियो ।

हालसम्म एउटा मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी ४२ जिल्लामा अधिवेशन हुन बाँकी छ । निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले एउटा निर्वाचन क्षेत्र भएका जिल्लामा पहिले नै अधिवेशन गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि जिल्ला र प्रदेश अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय समितिले तय गर्ने बताए । उनका अनुसार अधिवेशन मङ्सिरभन्दा पछि धकेलिने छैन ।