सीमा सुरक्षाबारे छलफल गर्न नेपाल–भारत संयुक्त बैठक आज


काठमाडौं । सीमा सुरक्षा र आपसी समन्वयका विषयमा छलफल गर्न नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक आजदेखि काठमाडौंमा बस्दै छ।

सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच हुने बैठकमा सीमा सुरक्षा व्यवस्थापन तथा दुई देशबीचको सुरक्षा समन्वयका विविध विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा सहभागी हुन एसएसबीका महानिर्देशक संजय सिंघलको नेतृत्वमा भारतीय टोली नेपाल आइपुगेको छ। नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले बैठकको नेतृत्व गर्नेछन्।

हरेक वर्ष आयोजना हुँदै आएको यो समन्वय बैठकमा सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौती, आपसी सूचना आदानप्रदान तथा सुरक्षा निकायबीचको सहकार्यलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच सीमा सुरक्षासम्बन्धी समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना हुँदै आएको बैठकको नवौँ संस्करण गत वर्ष भारतमा बसेको थियो। यसपटकको बैठक काठमाडौंमा हुन लागेको हो।

दुई देशका सुरक्षा निकायबीच नियमित छलफल र समन्वयले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।