एमालेका तीन केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूमध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जनाले बुधबार शपथ लिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराएका हुन्।

एमाले केन्द्रीय कमिटीमा मनोनीत भएका उनीहरूले बुधबार औपचारिक रूपमा शपथ लिएका हुन्। अध्यक्ष ओलीले तीनै जनालाई पार्टीको केन्द्रीय सदस्यका रूपमा शपथ गराएका थिए।

गत असोजको पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। सो बैठकबाट मनोनीत भएका अन्य केन्द्रीय कमिटी सदस्यहरूले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन्।

तीन जनाले शपथ लिएसँगै यसअघि मनोनीत भएर शपथ लिन बाँकी रहेका केन्द्रीय सदस्यहरूको शपथ प्रक्रिया पूरा भएको छ।