काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाए। उनले नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन निर्देशनसमेत दिएका छन्।
ओलीले आफूहरू स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको दाबी गर्दै आन्दोलनको तयारीमा जुट्नुपर्ने बताए। तत्कालै आन्दोलन सुरु नभए पनि आगामी दिनमा आवश्यक पर्न सक्ने भन्दै पार्टीपंक्तिलाई भित्रभित्रै तयारी अवस्थामा रहन उनले आग्रह गरे।
‘हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौँ। हामीले आन्दोलनकारी ढङ्गबाट अगाडि बढ्नुको विकल्प छैन। अहिले होस् कि भोलि होस्, तिहार–छठपछि होस्, हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ। भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ,’ ओलीले भने।
उनले वर्तमान सरकारले गुण्डाराज चलाएको आरोपसमेत लगाए। पूर्वप्रधानन्यायाधीशदेखि आफूलाई समेत सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको उनको जिकिर थियो।
ओलीले देशमा त्रास फैलाउने, सादा पोसाकका प्रहरी प्रयोग गरेर बलपूर्वक पक्राउ गर्ने तथा गिरफ्तारी गर्ने जस्ता गतिविधि भइरहेको आरोप लगाए। सरकारका यस्ता कदमले नागरिकको स्वतन्त्रता र अधिकारमाथि प्रश्न उठाएको उनको भनाइ थियो।
स्थानीय चुनावको तयारीमा जुट्न निर्देशन
ओलीले सरकारविरुद्ध आन्दोलनको तयारीसँगै नेता तथा कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। आगामी निर्वाचनमा एमालेलाई पराजित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले त्यसलाई असफल बनाउन पार्टीपंक्ति एकजुट हुनुपर्ने बताए।
‘आगामी चुनावमा हामीलाई नराम्रो ढङ्गले पराजित गर्न खोज्दैछन्। त्यसलाई हामीले दिवासपनामा परिणत गराउनुपर्छ। विगतमा पनि हामीले गरेका छौँ,’ ओलीले भने।
सरकारविरुद्ध आन्दोलनको तयारी गर्न दिएको निर्देशन र आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने उनको आह्वानले एमालेले सडक संघर्ष र चुनावी तयारीलाई सँगसँगै अघि बढाउन खोजेको संकेत गरेको छ।

















प्रतिक्रिया