काठमाडौँ । नेपाली सेनाको सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको छ । उक्त उपलब्धिको अवसरमा बुधबार काठमाडौँस्थित गौचर ब्यारेकमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले निर्माण गरिएको शिलालेख अनावरण गरेका छन् ।
सोही अवसरमा प्रधानसेनापति सिग्देलले ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ नामक पुस्तकसमेत विमोचन गरेका छन् । नेपाली सेनाको जङ्गी अड्डाका अनुसार सैनिक हवाई सेवा विसं २०२२ सालमा स्थापना भएको हो ।
स्थापनाकालदेखि सैनिक हवाई सेवाले विभिन्न परिस्थितिमा हवाई साधनमार्फत सेवा प्रदान गर्दै आएको छ । विशेषगरी विपद् व्यवस्थापन, खोज तथा उद्धार र कठिन भौगोलिक परिस्थितिमा आवश्यक सेवा पुर्याउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले जनाएको छ ।
दुर्गम क्षेत्रमा राहत सामग्री पुर्याउने, विपद्का बेला उद्धार कार्यमा सहयोग गर्ने तथा आपत्कालीन अवस्थामा हवाई सेवा उपलब्ध गराउने काममा सैनिक हवाई सेवा परिचालित हुँदै आएको छ । दुई लाखभन्दा बढी उडान घण्टा पूरा हुनु यस सेवाको दीर्घकालीन सञ्चालन र अनुभवसँग जोडिएको उपलब्धिका रूपमा रहेको छ ।
कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीहरू, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तथा सैनिक हवाई सेवामा कार्यरत र अवकाशप्राप्त रथी एवं अधिकृतहरूको उपस्थिति थियो ।
दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको अवसरमा आयोजित कार्यक्रमले सैनिक हवाई सेवाको इतिहास, योगदान र संस्थागत यात्रालाई स्मरण गर्नुका साथै यस क्षेत्रमा कार्यरत तथा अवकाशप्राप्त जनशक्तिको योगदानलाई समेत उजागर गरेको छ ।

















प्रतिक्रिया