हेटौँडा । शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री र प्रदेश विश्वविद्यालयका पदाधिकारीहरूको सम्मेलन सुरु भएको छ।
कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको सङ्घीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरेका हुन्। सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका उपकुलपति तथा कुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर विशिष्ट अतिथिका रूपमा सहभागी भएका छन्। उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षाको वर्तमान अवस्था, विकासका सम्भावना र सुधारका आवश्यकताबारे प्रस्तुति दिएका छन्।
उच्च शिक्षा सुधार र प्रदेशबीच सहकार्यमा जोड
सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका उपलब्धि, असल अभ्यास तथा विद्यमान चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, प्रदेशहरूबीच शैक्षिक सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने र शिक्षा क्षेत्रको विकासका लागि एकअर्काका अनुभव तथा अभ्यासबाट सिक्ने विषयमा छलफल गरिने जनाइएको छ।
सङ्घीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौती, सङ्घ तथा प्रदेश सरकारबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि सम्मेलनका प्रमुख विषय रहेका छन्।
प्रदेश विश्वविद्यालयको विकासका लागि साझा रणनीति बनाइने
प्रदेश विश्वविद्यालयहरूको प्रभावकारी सञ्चालन, संस्थागत क्षमता अभिवृद्धि र उच्च शिक्षालाई समयसापेक्ष बनाउने विषयमा समेत सम्मेलनमा छलफल हुनेछ। प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति निर्माण गर्ने लक्ष्य राखिएको छ।
शिक्षा क्षेत्रका नीतिगत समस्या पहिचान गरी तिनको समाधानका लागि सङ्घ, प्रदेश तथा विश्वविद्यालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको सन्दर्भमा सम्मेलनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन, उच्च शिक्षाको विकासमा सहकार्यका क्षेत्र पहिचान गर्न तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्मेलनबाट प्राप्त अनुभव, छलफल र सुझावले प्रदेश विश्वविद्यालयहरूको विकास तथा उच्च शिक्षाको गुणस्तर सुधारका लागि भावी योजना निर्माण गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

















प्रतिक्रिया