काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत सुधार गर्ने बताएका छन्।
नेपालमा उत्पादित विभिन्न सूचना प्रविधिसम्बन्धी उत्पादनले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान बनाउँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस्ता उत्पादनलाई थप प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विभिन्न आईटी उत्पादकहरूसँग यस विषयमा छलफलसमेत गरेको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार नेपालमै निर्माण भएका लुडो र कल ब्रेकजस्ता मोबाइल गेमले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरेका छन्। लुडो गेम करिब २० करोड पटक डाउनलोड भएको छ भने कल ब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ।
यी सफलताले नेपाली प्राविधिक जनशक्ति र प्रविधि क्षेत्रको सम्भावना अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित गरेको उनको भनाइ छ।
नेपाली उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राखे पनि विभिन्न नीतिगत तथा प्रक्रियागत अवरोधका कारण अपेक्षित रूपमा विस्तार हुन नसकेको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ।
यस क्षेत्रमा रहेका कृत्रिम अवरोध हटाउँदै आईटी उद्यमी तथा उत्पादकलाई सहज वातावरण उपलब्ध गराउने सरकारको योजना रहेको प्रधानमन्त्रीले बताएका छन्।
नेपालबाटै अन्तर्राष्ट्रिय स्तरका ठूला प्रविधि कम्पनी अर्थात् ‘ग्लोबल युनिकर्न’ जन्माउन सक्ने वातावरण निर्माण गर्ने लक्ष्यसहित सरकारले पहल थालेको उनको भनाइ छ।
सूचना प्रविधिलाई नेपालको आर्थिक विकास, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।
सरकारले आवश्यक नीतिगत सुधार, प्रविधिमैत्री वातावरण र उद्यमशीलतालाई प्रोत्साहन गर्न सके नेपाली आईटी उत्पादनले विश्व बजारमा थप विस्तार पाउने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया