हेटौँडा । निरन्तर वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पहिलो चेतावनी जारी गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जलाशयमा पानीको मात्रा निरन्तर बढिरहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
कुलेखानी जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण इन्द्रसरोवर जलाशयको जलसतह बढिरहेको छ। जलाशयको पानीको सतह नियन्त्रण गर्न आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले आयोजनाले पहिलो चेतावनी जारी गरेको जनाएको छ।
आयोजनाका अनुसार पानीको वृद्धिदर उच्च रहेकाले बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आएमा थप सूचना जारी गरिनेछ। त्यसअघि आवश्यक पूर्वसूचना र चेतावनीका लागि साइरनसमेत बजाइने व्यवस्था गरिएको छ।
सम्भावित बाढीको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न आयोजनाले ड्यामको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा बसोबास गर्ने सबैलाई खोला किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
त्यसैगरी, उक्त क्षेत्र भएर सञ्चालन हुने देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार हाल कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७.९३ मिटर पुगेको छ। वर्षा निरन्तर भइरहेकाले आगामी केही घण्टामै जलसतह १ हजार ५२८ मिटर पार गर्न सक्ने अनुमान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले विपद्को जोखिमबाट बच्न आयोजनाबाट जारी हुने आधिकारिक सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएस सतर्कता सन्देशमा उल्लेख गरिएका निर्देशन पूर्ण रूपमा पालना गर्नसमेत अनुरोध गरेका छन्।
जलाशयको पानीको सतह बढिरहेको अवस्थामा सम्भावित जोखिमलाई बेवास्ता नगर्न र सम्बन्धित निकायको सूचना प्राप्त हुनासाथ आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

















प्रतिक्रिया