पत्रकार रिहा हुँदैमा घटना सकिँदैन, सरकारले जवाफ दिनुपर्छ : विश्वप्रकाश


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारसँग जवाफ मागेका छन्।

पत्रकार पक्राउ परेपछि रिहा हुँदैमा घटना समाप्त नहुने भन्दै उनले पक्राउको आदेश कसले दिएको हो र यसमा जिम्मेवार को हो भन्ने विषय सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।

शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले भनेका छन्, ‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन। यस्तो किन गरियो, निर्देशन कसको थियो र जिम्मेवारी कसले लिने भन्ने मुख्य प्रश्नको जवाफ सरकारले दिनुपर्छ।’

उनले केही महिनाअघि सञ्चारगृहअगाडि प्रहरीका गाडी राखेर त्रास सिर्जना गरिएको घटनाको समेत स्मरण गराउँदै त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सरकारले चासो नदेखाएको आरोप लगाएका छन्।

सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिँदा प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता नरहेको बताउनु मात्रै पर्याप्त नहुने उनको भनाइ छ। सरकारको जिम्मेवारी घटनाबाट पन्छिने नभई नागरिकको अधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्नु रहेको उनले बताएका छन्।

शर्माले सत्तारूढ दल रास्वपाले पत्रकार गिरफ्तारीलाई गैरकानुनी भन्दै विरोध जनाए पनि त्यसले मात्रै पार्टीको जिम्मेवारी पूरा नहुने टिप्पणी गरेका छन्।

उनले रास्वपालाई प्रश्न गर्दै चुनावी घोषणापत्रमा उल्लेख गरिएको प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्ने कि त्यसको रक्षा पनि गर्ने भन्ने प्रश्न उठाएका छन्।

उनका अनुसार गैरकानुनी गतिविधि निरन्तर दोहोरिँदै जाँदा त्यसलाई रोक्ने जिम्मेवारी सत्तारूढ दलको पनि हुन्छ। सरकार बनाउने पार्टीले गैरकानुनी कार्यको विरोध गरेर मात्रै पुग्दैन, त्यस्ता गतिविधि नियन्त्रण गर्न आफ्नो हैसियत र भूमिका पनि देखाउन सक्नुपर्ने उनले बताएका छन्।

शर्माले आफूहरू स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको उल्लेख गर्दै गलत तथा भ्रमपूर्ण समाचारको खण्डन र आवश्यक कारबाहीका लागि कानुनी विधि र प्रक्रिया रहेको स्पष्ट पारेका छन्।

अन्त्यमा उनले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गतिविधि बन्द गर्न र पत्रकार पक्राउ गर्नुको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छ