काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पत्रकारमाथि राज्यबाट भइरहेको भनिएको ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रास तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको छ।
कांग्रेसकी प्रमुख सचेतक वासना थापाका अनुसार बैठकमा पछिल्लो समय पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने घटनाबारे पनि छलफल भइरहेको छ।
बैठकमा राज्यका निकायबाट भइरहेका गतिविधि, त्यसले प्रेस स्वतन्त्रता र नागरिक अधिकारमा पार्न सक्ने प्रभाव तथा कर्मचारीतन्त्रमा देखिएको अवस्थाबारे सांसदहरूले धारणा राखिरहेका छन्।
त्यस्तै, पार्टी र संसदीय दलबीचको समन्वय तथा आगामी दिनमा संसद्मा पार्टीले खेल्ने भूमिकाबारे पनि छलफल भइरहेको जनाइएको छ।
यसअघि आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी बाटोमा अघि बढिरहेको टिप्पणी गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेका थिए। पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला संसदीय दलको बैठक बसेको हो।
बैठकबाट समसामयिक राजनीतिक विषय तथा संसद्मा पार्टीको आगामी भूमिकाबारे थप धारणा तय हुन सक्नेछ।

















प्रतिक्रिया