सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु, सरकारविरुद्ध साझा रणनीति बनाउने तयारी


काठमाडौँ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। केहीबेरअघि सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका संसदीय नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्।

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलकी नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी छन्। त्यस्तै, नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल पनि बैठकमा उपस्थित छन्।

नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी भएका छन्। जनता समाजवादी पार्टीका महन्त ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बु ओली पनि बैठकमा सहभागी छन्।

विभिन्न विपक्षी दलका नेताहरू एकै ठाउँमा भेला भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। बैठकका एजेन्डा र छलफलका निष्कर्षबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।