‘पाँच पाण्डव’लाई युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न पाउने


काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। समितिले आज बिहान चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो।

युनिभर्सल सर्टिफिकेट पाएसँगै अब ‘पाँच पाण्डव’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। निर्माणपक्षले चलचित्रलाई पारिवारिक मनोरञ्जनसहित सपरिवार बसेर हेर्न मिल्ने कथामा तयार गरिएको जनाएको छ।

वर्षकै प्रतीक्षित चलचित्रका रूपमा प्रचार गरिएको ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्।

चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्। साथै सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय रहेको छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन्। नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्र सामाजिक ड्रामा विधामा आधारित छ। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको लेखक पौडेलले बताएका छन्।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। चलचित्रलाई डल्बी एटमस साउन्डमा पनि दर्शकले अनुभव गर्न पाउनेछन्।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम र पुकार धिमालको भीएफएक्स रहेको छ। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन्।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।