काठमाडौं । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक गरिएको छ। भाइटीकाको भोलिपल्ट अर्थात् आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले फिल्मको कथा, पात्र र परिवेशबारे संकेत गरेको छ। २०३०–४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिने फिल्ममा प्रेम, पारिवारिक सम्बन्ध र वियोगलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा अनमोल केसी र प्रिन्सी खतिवडा केन्द्रमा छन्। काजीको भूमिकामा देखिएका अनमोल गाउँमै पढाउने काम गर्छन्। यही क्रममा उनको प्रिन्सीसँग प्रेम सम्बन्ध सुरु हुन्छ। तर, अनमोलको परिवार उनीहरूको सम्बन्धको विपक्षमा उभिएपछि प्रेमले कस्तो मोड लिन्छ भन्ने कौतूहल ट्रेलरले सिर्जना गरेको छ।
ट्रेलरमा भुवन केसी र गरिमा पन्तलाई पनि देख्न सकिन्छ। उनीहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सी प्रस्तुत भएका छन्। बुबाको भूमिकामा देखिन अनमोलले जुँगा पालेका छन्। समग्रमा ट्रेलरले पुरानो समयको प्रेमकथाको झल्को दिएको छ।
फिल्मले विशेषगरी पुरानो पुस्ताका दर्शकलाई विगतका दिनको सम्झना गराउने र नयाँ पुस्तालाई फरक समयको प्रेमकथा अनुभूति गराउने अपेक्षा गरिएको छ।
भुवन केसीको निर्देशनमा बनेको फिल्ममा अनमोल र प्रिन्सीसँगै न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्।
प्रेम, पारिवारिक सम्बन्ध र विगतको ग्रामीण परिवेशलाई पर्दामा उतारिएको ‘बाटुलो जून’ले दर्शकको कस्तो प्रतिक्रिया पाउँछ, त्यो भने प्रदर्शनपछि थाहा हुनेछ।

















प्रतिक्रिया